मारुनी लोपहुने खतारामा

विनोद ढकाल
गोरखा
वर्षौ अघिदेखि गोरखाको वारपाकमा नाचिने परम्परागत मारुनी नाच विस्तारै लोप हुन थालेको छ । गाउँमा मारुनी गाउँने कलाकारहरु नहुदा र नयाँ पुस्ताले यसमा चासो नदिदा लोप हुदै गएको हो । ४/५ सय वर्ष पहिले घलेहरु अन्य गाउँबाट वसाइ सरेर वारपाक आउदा देखि गाउन सुरु गरिएको मारुनी गाउने र नाच्ने मानिसको अभावमा विस्तारै कम हुदै गएको मारुनीका गुरु फुलबहादुर घलेले बताए । पुराना पुस्ताले गाउने गीतहरु अहिलेकाले विस्रन थालेकाले एक सातासम्म लगातार गाइने मारुनी नाच एकै दिनमा सकिन थालेको उनले बताए ।
परम्परागत रुपमा गाइदै आएपनि मारुनीका गीतहरु लिखित रुपमा नराखिने भएकाले एक पुस्ताबाट अर्का पुस्तामा हस्तान्तरण हुदा धेरैजसो गीतका टुक्काहरु लोप भएको मारुनी गायक मिनबहादुर घलेको भनाइ छ । \'वाबुबाजेले गाएको गीत सुनेको भरमा पछिल्लो पुस्ताले सबै गीत गाउन सक्दैन त्यसैले गीतहरु छोटिन थालेको छु उनले भने । पुराना पुस्ता गीत गाउन नसक्ने हुनु र नयाँ पुस्ता गाउँमा नै नबस्ने गर्नाले पनि मारुनी लोप हुदै गएको उनले बताए । उनले यस्ता गीतहरुलाई पछिल्लो वर्षौसम्म जगेर्ना गरीराख्न गीतका टुक्काहरुलाई लिखित रुपमा राख्नुपर्ने पनि बताए । मारुनी गाउने गरेका वारपाकीहरु पनि धेरैजसो काठमाडौमा नै वस्दै आएका छन् । कलाकारहरु नहुदा साउने संक्रान्तिबाट निरन्तर माघेसंक्रान्तिसम्म गाइने यो गाउँमा पाहुनाहरु आउदा र विशेष चाडबाडको समयमा मात्र गाइने गरिन्छ ।
लगभग द्यौसी भैलो जस्तो रुपमा मारुनी गीतलाइ प्रस्तुत बुझ्न सकिने स्थानिय पुरबहादुर घलेले बताए । द्यौसी भैलो टोली घरघरमा गइ गीत गाउँछन् र आशिष दिने गर्छन भने मारुनीलाई कुनै घरधनीले आफ्नो घरको रक्षा गर्नको लागि वोलाएर गाउन लगाउने चलन छ । गाउँमा मारुनी गाएमा शुख शान्ति कायम हुने कसैलाई रोगब्याध नलाग्ने गाउँघरमा मेलमिलाप कायम हुने जनविश्वास छ । गाउँलेले मारुनी गाएपछि मारुनी टोलीलाई फलफुल रोटी मिठाइ लगायतका स्थानिय परिकार र नगद दिने चलन छ । यसरी वारपाकमा हरेक वर्ष २० हजार भन्दा बढी रकम संकलन हुने गरेको छ । यसरी संकलन भएको रकमको थोरै अंश माघ महिनामा पर्ने श्रीपाचमीको मारुनी विसर्जन गर्दा थोरै खर्च गरी सामाजिक काममा लगाउने गरेको पुरबहादुरले बताए । यसरी उठेको रकमबाट गाउँका वाटोहरुमा ढुङ्गा छाप्ने चौतारा निर्माण गर्ने लगायतका काममा खर्च गर्ने उनले बताए । केही वर्ष अघि वारपाकको मारुनी टोलीले काठमाडौका बिभिन्न ठाउँमा मारुनी देखाई संकलन गरेको पैसाबाट वारपाककै माथिल्लो क्षेत्रमा पर्ने नारदपोखरी छेउमा भक्तजनहरु बस्ने टहरा निर्माण गरेको छ ।
जिल्लाको सबैभन्दा उत्कृष्ट मारुनी नाचिने र तथा गाइने ठाउँका रुपमा वारपाक प्रख्यात छ । देवी देवताको सिङ्गो जीवन कथालाई गीतमार्फत प्रस्तुत गरिने र पुरुषहरु महिलाको भेषमा प्रस्तुत हुने भएकाले यसलाई मारुनी भनिएको स्थानिय जानकारहरुले बताएका छन्\' । गाउँको मुखियाबाट साउनेसंक्रान्तिको दिन बिधिवत रुपमा सुरुवात गरिने यो गीत र नाच एकजना गुरुले साचालन गर्छन् । गीत सुरु गर्ने अन्त्य गर्ने नयाँ लय निकाल्ने सबै काम गुरुबाट सुरु हुन्छ । नाच्ने बिधि र तरिका पनि गुरु मार्फत नै निर्धारण गरिन्छ ।
Source : Hamro Gorkha














